कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो !
काठमाडौं, ९ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ९० महिलाससहित ५ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ९९ पुगेको बताए । कोरोनाबाट हालसम्म २४ जनाको मृत्यु भएको छ । २४ औं व्यक्ति दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष हुन । असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर ७६ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ । हालसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना फैलिएको छ भने ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।