सलह किरा नेपाल प्रवेश !
काठमाडौं, १३ असार । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा सलह देखिएको भन्दै फेसवुकमा तस्वीर तथा फोटो सार्वजनिक गरेका छन् । केही स्थानीयले पनि सलहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर सचेत रहन आग्रह गरेका छन् । भारतको बिहार हुँदै सलहको एउटा समूह नेपाल छिरेको छ । बारा र सर्लाही जिल्लामा आज विहान सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालयले जानकारी दिएको छ । बाराको निजगढ नजिकै र सर्लाहीका नवलपुरमा सलह देखिएको हो ।
सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउने क्षतिका र नियन्त्रणका उपायका विषयमा कृषि मन्त्रालयले आवश्यक तयारी थालेको छ । कृषि विज्ञहरुको टोलीले कति संख्यामा सलह भित्रिएको हो । त्यसले कति क्षति गर्न सक्छ भनेर अध्ययन थालिसकेको कृषि मन्त्रालयले जनाएको छ । अफ्रिकाबाट पाकिस्तान र भारत हुँदै सलह नेपाल छिरेका हुन् । ठुलो समूहमा हुने सलहले दैनिक १ सय ५० किलोमिटरसम्मको दुरी पार गर्न सक्छन् । औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने विज्ञहरु बताउँछन् । सलहले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति क्षति पुर्याउने गरेको छ ।