अविरल वर्षा र बाढी पहिरोले देशभरका राजमार्गमा क्षति

काठमाडौं । अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेको छ भने ठाँउ ठाँउमा पहिरो खसेको छ । मौवाखोला पुलमा क्षति भएका कारण गाडी चल्ने अवस्था रहेको छैन । सडक विभागका अनुसार काठमाडौं आउजाउ गर्ने मूख्य सडक पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मौवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न समय लाग्ने देखिएको हो । बाढी पहिरोको घटनामा परेर हिजो देशका विभिन्न जिल्लाहरुमा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
सडक विभागका अनुसार विभिन्न खोला र नदीका पुलहरु क्षतिग्रस्त भएका छन् । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।विभागले सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्याएका सडक मर्मतको काम गरिररहे पनि पृथ्वी राजमार्गलगायतका मुख्य सडकहरु खुलाउनै समस्या देखिएको छ ।
यता ,आइतबार रातिदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । अविरल वर्षापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गुल्जुङमा पहिरो गएको छ ।पहिराेमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ ।
सोमबार राति आएको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको पनि डीएसपी खड्काले बताए । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।