बाँकेमा पुनः लकडाउन !

काठमाडौं । कोरोना भाइरस समुदायस्तरसम्म पुगेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले १८ गतेदेखि पुनः लकडाउन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै दोस्रो पटक लकडाउन गर्न लागेको बताए । लकडाउन खोलेसँगै नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आइतबारदेखि पुनः लकडाउन गर्ने प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
प्रजिअ कुरुम्वाङले भने , ‘ कोरोनाको फेरि भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो । पहिलोपटक तीन दिनलाई लकडाउन गरिनेछ । त्यसपछि अवस्था हेरेर हेरफेर गरिनेछ । आइतबारदेखि कडा लकडाउन हुन्छ । अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ ।’
राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालयमा १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरी १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको बताएको छ ।
सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् । लकडाउनमा अत्यावशश्यक सवारीसाधान बाहेक कुनैपनि सवारीसाधान चल्न नपाउने र चलेको खण्डमा कानून बमोजिम कारवाही गर्ने प्रशासनले जनाएको छ ।