सर्वोच्चको बिबादित फैसलाविरुद्ध प्रदर्शन !

काठमाडौँ । सर्वोच्च अदालतले पत्नीहत्याको अपराधमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका सहस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद सजाय छूट गरेर न्यायालयको अपमान गरेको भन्दै महिलाहरूले प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) निकट महिला सङ्गठनको आयोजनामा चितवनमा भएको कार्यक्रमका वक्ताहरूले जन्मकैदको सजाय काटिरहेका कोइरालालाई सजाय छूट दिइएको भन्दै विरोध गरेका हुन् ।
चितवन जिल्ला अदालतअगाडि महिलाहरूले नाराजुलुससहित धर्ना दिँदै श्रीमती हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैद भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन डीआईजी कोइरालालाई कैद सजाय छुट गर्ने फैसलाको विरोधमा विरोध गरे । उनीहरूले सर्वाेच्च अदालतको यस्तो फैसलाको कडा शब्दमा निन्दा गर्दै घोर भत्र्सना गरे ।
विरोध कार्यक्रमलाई मोहन वैद्य निकट अनेमसङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, नेकपा मसाल निकट नेपाल प्रगतिशील महिला सङ्घकी उपाध्यक्ष भगवती घिमिरेलगायत महिला नेत्रीहरूले सम्बोधन गरेका थिए । शान्ति विकको सञ्चालनमा सम्पन्न विरोध कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसङ्घ (क्रान्तिकारी), नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घ र नेकपा (मसाल) निकट अखिल नेपाल महिला सङ्घमा आबद्ध महिला नेत्रीहरूले बोलेका थिए ।