जहाँ संक्रमण त्यहाँ सिल !

काठमाडौं । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको आजको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको छ । जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले सरकारी तथा निजी कार्यालयका काम नियन्त्रित गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयहरुमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने छ । तत्काल लकडाउन नगरिए पनि उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ भने गरिने छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार, ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ ।’ त्यसअनुसार टेकु, महाबौद्ध क्षेत्र सिल गरिने भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।
उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृह मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि भएको छ ।
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाइएको छ । संक्रमण बढ्दै गएमा स्थानीय प्रशासनले निषेधाज्ञासम्म लगाउन सक्ने गरी तयारी गरिएको जनाइएको छ ।