काठमाडौं उपत्यकाका जि.प्र.का.मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

२०७७ श्रावण २५ गते, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएका छन् ।
आजदेखि काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो । गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको थियो । पछिल्लो समय काठमाण्डौं उपत्यकाभित्र कोराना संक्रमितको संख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
यता, उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ । उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन काठमाडौंले थप कडाइ गरेको हो । अत्यावश्यक काममा मात्रै सवारी पास दिइने भएको छ । निवेदन दिएको दिनमै सवारी पास उपलब्ध गराउँदै आएको जिल्ला प्रशासनले अब अर्को दिन बिहान पास उपलब्ध गराउने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]