धादिङमा निषेधाज्ञा

काठमाडौँ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु र संक्रमितको संख्या १ सय ५७ पुगेपछि जिल्ला प्रशासन कार्यालय धादिङले भदौ ३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाईरस पोजेभि देखिएपछि रोकथामको लागि कालुपाण्डे राजमार्गको फुर्केखोला देखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाकका केही वडामा निषेधाज्ञा जारी गरेको हो ।
पृथ्वीराजमार्गको मौवाखोला देखि पिपलामोड सम्मको राजमार्ग क्षेत्रहरुमा मालबाहक गाडी र एम्बुलेन्स बाहेक अन्य सबै यातायातको साधनमा समेत संचालनमा रोक लगाइएको छ ।
यता , पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप मानिसमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ११ जना महिला रहेका छन । संक्रमितहरु वीरगञ्जको घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् । वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालाको अनुसार वीरगंजको हालको संक्रमण दर १५ प्रतिशतको हाराहारीमा रहेको छ ।
सुरुमा भारतवाट फर्कनेमा मात्रै संक्रमण देखिएकोमा पछिल्ला समय अस्पताल, क्वारेन्टाइनबाट बाहिर अर्थात् समुदायस्तरमै संक्रमण देखिएको छ । बाराको प्रसौनीका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।संक्रमण नियन्त्रणका लागि साउन १९ गतेदेखि पर्सामा निषेधाज्ञा पनि जारी गरिएको छ ।