सिन्धुपाल्चोकमा भीषण पहिरो : १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदीमा आज बिहान भीषण पहिरो गएको छ । पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो । स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् । नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताए । उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको छ ।