कोरोना संक्रमित घुमफिर र भोजभतेरमा व्यस्त !

काठमाडौं । कोरोना संक्रमित जिल्ला अदालत, मालपोत कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,जलेश्वर नगरपालिकाका कर्मचारी तथा केही सर्वसाधारण आईसोलेशनमा नबसी घूम्न थालेपछि जलेश्वर नगरपालिका सहित केही स्थानीय तहका गा्रमीण क्षेत्रमा त्रास छाएको छ । सर्वसाधारणले संक्रमण फैलिएको बेला स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै पोजिटिभ रिपोर्ट आएका कर्मचारी स्वास्थ्यकर्मी राजनितिककर्मी तथा सर्वसाधारणले तरकारी बजार घुमिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् । संक्रमितहरु परिवारसँग, नातेदारसँग भोजभतेरमा समेत सहभागी हुने गरेका छन् । समुदायमै संक्रमितको चहलपहलले संक्रमणको खतरा बढाएको छ ।
आजसम्म महोतरीमा १ हजार ३८ जना संक्रमित पहिचान भएका छन भने २ जनाको मृत्यु भएको छ । तीमध्ये विभिन्न अस्पतालमा ६० जना कोरोना संक्रमितहरु उपचारमा रहेका छन भने ९० जना घरकै आइसोलेशनमा बसेको कागजमा देखाइए पनि उनीहरु खुलेआम रुपमा बजारमा घुमिरहेको पाइएको छ । ९ सय ८ जना संक्रमणमुक्त भएका छन ।