काठमाडौंको वडा नम्बर १० सिल, न्युरोडका पसल दुइ दिन बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले नयाँबानेश्वर, बुद्धनगरसहित आफ्नो वडा क्षेत्रमा सिल गरेको जनाएको छ । कोरोना संक्रमण फैलिरहेकाले यस १० नम्बर वडा अन्तर्गत धेरै जनामा कोरोना पोजेटिभ देखिएकाले नागरिकको भीड बढेसँगै जोखिम पनि बढ्ने हुँदा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सिल गरिएको वडा कार्यालयले जनाएको हो । सिल गरिएपछि वडाभित्र कडाई पनि गरिएको छ । भित्रि गल्लीमा खुलेका खाजागरलाई प्रहरीले बन्द गराएको छ भने अटेर गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।वडा कार्यालयकाअनुसार वडाभित्र फुटपाथ पसल, मठ मन्दिरमा नित्यबाहेका अन्य पूजापाठ, कवाडी संकलन, चिया पसल, पान पसल, मदिराको खुद्रा बिक्री गर्न निषेध गरेको छ । त्यस्तै जिमहल, व्युटी पार्लर, सैलुन सञ्चालन गर्न र भीडभाड हुने कुनै पनि कार्य गर्न रोक लगाइएको छ ।
त्यस्तै काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड–१९ संक्रमण देखिएको छ । संक्रमित देखिएपछि वडा समितिले स्थानीय क्लब र व्यावसायीहरूसँगको सहमतिमा कडाइ गर्ने निर्णय गरेको हो ।