सवारी साधन मर्मत सम्भारको काम भदौ १५ सम्म बन्द

काठमाडौं । नेपाल अटोमेकानिक्स व्यवसायी संघले कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने बताएको छ । संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ । अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ । ‘आफू र आफ्नो वर्कसपमा काम गर्ने सहयोगी अटो मेकानिक्सलगायत आफ्नो वरिपरिको वातावरण पनि सुरक्षित गराइदिनुहुन अनुरोध गर्दछौं’ संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले भने ।