आज हरितालिका तीज

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । आज हिन्दु महिलाहरुले निराहार व्रत बसी मनाउदैछन् । विवाहित महिलाले पतिको दीर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ
तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । देशका अन्य मठमन्दिरहरुमा पनि खास चहलपहल छैन । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् ।