दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ६ गते, शनिबार


काठमाडौं । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­-४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।
उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सुरु गरिएको प्रमुख यादवको भनाइ छ । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसअघि, सिरहाको गोलबजार नगरपालिका-१२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका­-१ का ४० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]