काठमाडौंका सबै वडामा कोरोना संक्रमित !

२०७७ भाद्र ८ गते, सोमबार

काठमाडौं । पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच, काठमाडौंका सबै ३२ वटै वडामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फेला परेको छ । वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १२३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४ सय ११ जना तथा भक्तपुरमा २ सय ७२ जनामा संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ । जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ । १ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]