आज विश्व शौचालय दिवस

काठमाडौं । आज विश्व शौचालय दिवस । नेपाल खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहीन छन् । दिवसकै अवसरमा बिहीबार ललितपुर महानगरपालिकाको पाटन, मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाभित्र खाली जग्गामा पार्क निर्माण गर्नेदेखि लिएर महानगरलाई प्रविधिमैत्री बनाउने काम पनि भइरहेको बताए । सो सार्वजनिक शौचालय अपांगता, वृद्धवृद्धा र महिलामैत्री छ । साथै, महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैं निकाल्न सकिने व्यवस्था रहेको छ । एरोसान स्टेनेबल स्यानिटेसनले २५ लाख रुपैयाँको लागतमा शौचालय निर्माण गरेको हो । शौचालय भवन र बायोग्यासलगायतका अरु सुविधाहरुसमेत रहेकाले लागत २५ लाख पुगेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताए ।
विश्वमा सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । विश्वमा अझैपनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विश्वव्यापी दिगो विकासको लक्ष्यअन्तर्गत् सन् २०३० सम्म हरेक व्यक्तिको पहुँच शौचालयमा पुग्ने लक्ष्य तय गरिएको छ ।