आज विवाह पञ्चमी

२०७७ पुष ४ गते, शनिबार


काठमाडौं । आज मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमी। आज सीता र रामको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ।यसैगरी मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको धुमधाका साथ विवाह महोत्सव मनाईदै छ । जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याउन्छन्। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइएपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।
प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिन्छ । यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने, रामायणमा वर्णन भएका घटनाको स्मरण एवं कथा वाचन गर्ने परम्परा रहँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]