दुई लुटेरा पक्राउ

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न बझाङ्गको जय पृथ्वी नगरपालिकाका २१ वर्षीय सुनिलबहादुर सिंह र सिधुपाल्चोक साँगा चोकगढी नगरपालिकाका ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना काठमाडौंको दरवारमार्ग स्थित दोहोरी साँझमा काम गर्ने युवक रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए ।
गत माघ १० गते राति १ बजेको समयमा काठमाडौंका प्रविनकुमार भण्डारीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछको क्रममा भण्डारीले मादक पदार्थ सेवन गरेर लठ्ठ परेको समयमा सिंह र श्रेष्ठले उनीमाथि लुटपाट गरेको खुलेको छ । अभियुक्तहरूले भण्डारीको साथमा रहेको सुनको लकेटसहित सिक्री, औँठी र ब्रासलेट लुटेर फरार भएका थिए । प्रहरीले उनीहरुबाट लुटिएको सामानसहित लुटपाटमा प्रयोग भएको एउटा मारुती कार पनि बरामद गरेको छ । दुवै अभियुक्तमाथि चोरी अपराध अन्तर्गत मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रतिक्रियाहरु

[anycomment]