आज विश्व क्यान्सर दिवस

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। ‘म हुँ र म हुनेछु’ भन्ने नारासहित विश्व क्यान्सर दिवस मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाइँदै आएको विश्व क्यान्सर दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । क्यान्सर रोगको निवारणका लागि सक्रिय विभिन्न सरोकारवाला संस्था एवं निकायले क्यान्सरबाट हुने मृत्युलाई कम गर्न जनचेतनामूलक कार्यक्रम गरी याे दिवस मनाउन लागेका हुन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । वर्षेनी विश्वभर लाखौं मानिसकाे क्यान्सरका कारणले मृत्यु हुने गर्छ । यसै कुरालाइ ध्यानमा राखी जनजागरण अनि उपचारका माध्यमबाट मृत्युबाट जोगाउने हेतुले क्यान्सर दिवस मनाइन्छ ।नेपालमा पनि बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो समय नेपालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा वार्षिक झण्डै ११ हजार नयाँ क्यान्सरका बिरामी देखापर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर चिकित्सकहरूले भने नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने अनुमान गर्दै आएका छन् । ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सरका रोगी रहेकाे अनुमान छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकहरू बताउँछन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।