बैतडीकी भागरथीको शव ७ दिनदेखि अस्पतालमै !

काठमाडौं । परिवारले दोषी पत्ता नलागेसम्म शब् नबुझ्ने अडान लिएपछि बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ । हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ ।
अघिल्लो बुधवार विद्यालयबाट घर फर्कने क्रममा हराएकी भागरथीको शब बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।