फागु पूर्णिमा उल्लासपूर्वक मनाइंदै

२०७७ चैत्र १५ गते, आईतवार


काठमाडौं । आज फागू पूर्णिमा अर्थात् होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई ,तीन दिनसम्म होली मनाउने चलन छ ।


यस पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाई होलीको दहन गरिनेछ । यद्दपी कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले सामुहिक रुपमा होली खेल्न प्रतिबन्ध लगाउँदै घरमै बसी यो पर्व मनाउन आग्रह गरेको छ ।
यसैबीच , कोरोनाको जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
कोभिड–१९ संक्रमाण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

प्रतिक्रियाहरु

[anycomment]