दलित मुक्ति मोर्चा प्युठानको अध्यक्षमा परिवर्तन

काठमाडौं । दलित मुक्ति मोर्चा प्युठानको प्रथम जिल्ला भेलाले गोपीलाल सुनार ‘परिवर्तन’ अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । मोर्चाको उपाध्यक्षमा हर्कबहादुर नेपाली, सचिवमा विमला सुनार र कोषाध्यक्षमा कर्णबहादुर सुनार रहेको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा प्युठान जिल्ला इन्चार्ज श्रवणले एकीकृत जनक्रान्तिको बाटोबाट मात्र जातीय मुक्ति सम्भव रहेको बताए ।
दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज टीकाराम नेपालीले २१ औँ शताब्दीमा पनि नेपाली समाजमा जातीय विभेदका कारण धेरै दलितले ज्यान गुमाउनुपरेकाले अबको एक मात्र विकल्प एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र दलितहरूको वास्तविक मुक्ति सम्भव हुने बताए ।
कार्यक्रममा नेकपा स्याङ्जा जिल्लाका पूर्वइन्चार्ज बुलेट कार्की, नेकपा प्युठानका सेक्रेटरी अजय घर्ती, जिल्ला जनपरिषद् प्युठानका प्रमुख पवन बुढा, युवा सङ्गठन नेपाल प्युठानका अध्यक्ष बसन्त नेपालीलगायतले भेला सफलताको शुभकामना दिएका थिए ।
गोपीलाल सुनारको अध्यक्षतामा सम्पन्न भेलामा कर्णबहादुर सुनारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।