नेकपा विपत्तिमा परेका जनताको उद्दारमा व्यस्त

२०७८ असार १२ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण तह र तप्काका नेता, कार्यकर्तालाई विपत्तिमा परेका जनताको उद्दार, राहत र व्यवस्थापनमा लाग्न निर्देशन दिएको छ । पार्टीको सोहि निर्देशनअनुसार देशका विभिन्न ठाउँमा नेकपाका नेता, कार्यकर्ताहरु विपत्तिमा परेका जनताको उद्दार, राहत र व्यवस्थापन कार्यमा जुटिरहेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी, दाङले शान्तिनगर गाउँपालिका ३ अधेरे निवासी अल्पसंख्यक, अति विपन्न दलबहादुर कुमालको घर निर्माण कार्य सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच घर निर्माण कार्यको शिलान्यास गरिएको हो ।
घर निर्माण शिलान्यास गर्दै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी, दाङका सेक्रेटरी प्रदिपले पार्टी श्रम र समयसँग एकाकार बनेर अगाढी बढेको बताए । जनप्रतिनिधिले आफ्नो अनुकुलतामा विकास बजेट छुट्याउने कमिसन खाने र भ्रष्टाचार गर्ने गरेको बताउदै भने अहिले हामी साना टहरा बनाउछौ भोलि हामी समृद्ध टहरा बनाउछौँ । उनले बिभिन्न उद्योगी व्यावसायीहरुको सहयोग, नेताकार्यकर्ता, गाउँटोल, समाजको श्रमशक्तिबाट घर निर्माण सम्पन्न गरिने बताए /


कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य विरेन्द्रले संगठनका नेताकार्यकर्ताहरु निरन्तर जनताको सारथी बनेर जनश्रममा जोडिएको बताए । स्थानीय युवा र वासिन्दाले पटकपटक वडा कार्यालय र स्थानीय नेताहरुलाई असायहरुको घर बनाइदिन अनुरोध गर्दा पनि वेवास्ता गरिएकोले हाम्रो पार्टीले पहलकदमी लिएको बताए ।
घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ, दाङ जिल्लाका अध्यक्ष विवेकले रु. ५ हजार, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी व्यावसायी तथा समाजसेवी डिल्लीबहादुर केसीले रु. ८ हजार नगद सहयोग प्रदान गरेका थिए । घर शिलन्यास कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, दाङ जिल्ला समिति सदस्य मनोजले संचालन गरेको कार्यक्रमको अध्यक्षता पार्टीका शान्तिनगर(दंगिशरण) गाउँपालिका इन्चार्ज निर्मलले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन युवा सङ्गठन रूपन्देहीले बुटवलको रानीगन्जस्थित तिनाउ किनारामा रहेको गोपिलाल सापकोटा र मायादेवी सापकोटाको घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले जनताको दुःखमा राज्यको अनुपस्थितिका कारण जनतालाई केन्द्रमा राखेर ८३ वर्षीय गोपिलाल सापकोटा र ७४ वर्षीय मायादेवी सापकोटाको घर निर्माण गरेको बताए । उनले कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको हरेक समस्यामा नेकपा अग्रमोर्चा भागमा रहेर निरन्तर जनसेवामा जुटिरहेको बताए ।सेक्रेटरी विश्वासले सापकोट दम्पतीको घर निर्माणपछि जनताले कोही नभएको अवस्थामा पनि नेपाल कम्युनिस्ट पार्टी साथमा छ, भन्ने अनुभूति गरेको बताए । उनले राज्य यो महामारीको बेला जनताप्रति उत्तरदायी भएर जनताको सेवामा लाग्नुको साटो सत्ता जोगाउन र प्राकृतिक स्रोत, साधन दोहन गर्ने कार्यमा व्यस्त रहेको बताए । उनले भने, ‘वर्तमान दलाल संसदीय व्यवस्थाबाट सुकुम्बासी, किसान, मजदुरको मुक्ति सम्भव छैन । यी सम्पूर्ण समस्याको समाधानको निम्ति र वर्तमान नेपाली राजनितीमा देखिएको सङ्कटको निकासका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न जरुरी छ ।’ जसको लागि नेकपाले अघि सारेको व्यवस्था फैसला गर्नुपर्ने चुनाव जनमत सङ्ग्रहमा जानुपर्ने उनले बताए ।

युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले युवा सङ्गठन नेपालको केन्द्रीय योजना अन्तर्गत रूपन्देही जिल्ला समितिले घर निर्माण गरेको बताए । उनले आवास निर्माणमा सहयोग गर्नुहुने नेकपाका सबै जवस मोर्चाका नेता–कार्यकर्ता र स्थानीयहरूलाई धन्यवाद प्रकट गरे । आमा मायादेवी सापकोटाले आवास निर्माणको लागि नेकपाप्रति धन्यवाद प्रकट गर्दै जनताको सेवामा निरन्तर खट्न सुझाव दिइन् । उनले नेकपाले गरेको सहयोग कहिल्यै नबिर्सने बताइन् ।कार्यक्रममा नेकपाका सचिवालय सदस्यहरू नवीन, श्याम, अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर, नेकपा रानीगन्ज एरिया इन्चार्ज सरिता बराह, दलित मुक्ति मोर्चा, रूपन्देही जिल्ला अध्यक्ष जानुका बराह, अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर, अखिल नेपाल जनसांस्कृतिक महासंघका रूपन्देही जिल्ला अध्यक्ष बिहानी मगरलगायत नेता–कार्यकर्ता तथा ठूलो मात्रामा स्थानीयहरूको उपस्थिति रहेको थियो । सङ्गठनका रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष पारस राहादी मगरले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]