‘मलको कालोबजारी गर्ने कम्पनी र व्यक्तिहरूको लाइसेन्स खारेज गर’

२०७८ असार १६ गते, बुधबार


काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले मलको कालोबजारी गर्ने कम्पनी र व्यक्तिहरूको लाइसेन्स खारेज गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष हरि श्रेष्ठले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल सरकारले मान्यता दिएको कृषि सामाग्री कम्पनी लिमिटेडले वितरण गर्ने मल स्थानीय तहलाई वितरणको जिम्मा दिँदा मलमा गाउँपालिका, नगरपालिका र वितरण जिम्मा पाएको सहकारीमार्फत कालोबजारी र सरकारी मूल्य भन्दा डब्बल मूल्य लिएर वितरण गरेको भेटिएको भन्दै यसलाई रोक्न जोडदार माग गरेका छन् । साथै किसानले पर्याप्त मात्रामा मल नपाएको भन्दै उनले मल सहज रुपमा वितरण गर्न पनि माग गरेका छन् ।
त्यसैगरी सरकारको नीति तथा कार्यक्रम एवम् बजेटमार्फत किसानले पाउँदै आएको कृषि विमा ७५ प्रतिशत बढाउनुपर्नेमा झन् घटाएर ५० प्रतिशतमा झारेकोप्रति विज्ञप्तिमा उक्त सङ्गठनको ध्यानाकर्षण भएको जानकारी गराइएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले किसानको हकहितमा बजेट ल्याउन, अनुदान बढाउन, किसानको समस्या समाधान गर्न, मल पूर्ति गर्न र मलको कालोबजारी रोक्न जोडदार माग गर्दै अन्यथा किसानका मागका लागि सडक सङ्घर्षमा उत्रन बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]