माेटरसाइकल चोरीमा संलग्न ५१ जना पक्राउ !

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले चालु आर्थिक वर्षकाे हाल सम्म माेटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ। महाशाखाले हराएका चार सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीकाे जिम्मा लगाएकाे छ। मंगलबारमात्र महाशाखाले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ। कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाइकल र आठ वटा स्कुटर छन्।
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरोहोण्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी माग हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाइएको छ। युवा पुस्ताको रोजाई र ग्रामीण भेगमासमेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ।
हराएको सवारी साधन फेलापरेपछि सवारी धनीहरु पनि खुसी भएका छन्। उनीहरुले प्रहरीले चाहेमा चोरीको जस्तो सामान पनि फेला पार्ने र संलग्नलाई नियन्त्रणमा लिन सक्ने भन्दै महाशाखालाई धन्यवाद दिएका छन्।