नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

२०७८ असार २४ गते, बिहीबार

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए। बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो। सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। पहिराले सयौँ सवारी साधन रोकिएका छन्।
यता , पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा आज बिहान ३ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् ।
राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु