कोरोनाको तेस्रो लहर चुनौतीपूर्ण हुने चेतावनी

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउनसक्ने बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने चेतावनी दिएका हुन्।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संसंस्थालाई अक्सिजन, शयैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ। ‘सबै अस्पताललाई अक्सिजन भर्न र शैय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ’, सहप्रवक्ता अधिकारीले भने -, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं।’
मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रूपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाउँदै मन्त्रालयले २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ। निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि नबुझी र खुल्लमखुल्ला ढंगले जनस्वास्थ्यका मापदण्डको उल्लंघन भइरहेको जनाउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गराउन सबै निकायलाई अनुरोधसमेत गरेको छ। खोप केन्द्रमा आफ्नो पालोमा पुगेर खोप लगाउन र भिडभाड नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।
‘संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन। हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि वुझी नबुझी लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उल्लंघन भइरहेको देखिन्छ । विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ,’ विज्ञप्तिमा भनिएको छ।