जयसिंह धामीको हत्या भारतीय साम्राज्यवादको उपज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इञ्चार्ज ओम प्रकाश पुनले जयसिंह धामीको रहस्यमय हत्या भारतीय साम्राज्यवादको उपज बताएका छन् । नेकपा कञ्चनपुरले दार्चुला घटनाको विरोधमा झलारीमा आयोजना गरेको विरोध सभा सभालाई सम्बोधन गर्दै नेता पुनले सो कुरा बताएका हुन्। पुनले धामीको हत्याले देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै यसको सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । उनले अहिलेकै यहि पूँजीवादी दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा, जिउधनको रक्षा हुन नसक्ने र यसको दीर्घायु, अपरिहार्य निकास भनेको वैज्ञानिक समाजवाद भएको बताएका छन् । जसको स्थापनाका लागि पार्टीले लोकतन्त्रको सर्वोत्तम अधिकार प्रयोग गर्दै जनमत संग्रहमा जाने वातावरण सिर्जना गर्न आम नागरिक तथा पार्टी पंक्तिलाई अपिल पनि गरेका छन् । प्रमुख अतिथि पुन रहेको उक्त सभामा अध्यक्षता जिल्ला सचिव रमेश परियार ले गरेका थिए भने कार्यक्रम सञ्चालन युवा संगठन नेपालका केन्द्रीय सदस्य भुवन कुंवरले गरेका थिए ।