भारत धौलीगंगा बाँध खोल्दै महाकाली किनारमा सतर्कता अपनाउन आग्रह

२०७८ भाद्र १० गते, बिहीबार


काठमाडौँ । आज भारतले उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ। भारतीय जलविद्युत कम्पनी ​एनएचपिसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले दार्चुला जिल्ला प्रशासन कार्यालयलाई यसको जानकारी दिएका छन्।धौलीगंगा बाँध बिहीबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोल्ने जानकारी पाएको दार्चुला प्रशासनले जनाएको छ। एनएचपिसी र धौलीगंगा पावर स्टेशन धारचुला पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार १२ घण्टा बाँधको सरसफाइ तथा मर्मत गर्न बाँध खोलिन लागेको उल्लेख छ। बाँधका ढोका खोलिने हुँदा व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म महाकालीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए।
मर्मत गर्दा बाँधका सबैजसो ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने अनुमान गरिएको छ। महाकालीमा बढ्ने जलस्तरले छेउछाउ बसोबास गर्ने नेपालीलाई असर पर्नसक्ने भएकाले सतर्क रहन दार्चुला प्रशासनले आग्रह गरेको छ। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्क रहनसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्।
विसं २०७० असार २ र ३ गते ​भारतले धौलीगंगाको बाँध एक्कासी खोलेपछि दार्चुला सदरमुकाममा १ सय ५८ घर बगेका थिए। यसबाट अर्बौं रूपैयाँ बराबरको क्षति भएको थियो। भारतले धौलीगंगा बाँधबाट २ सय ८० मेगावाट विद्युत उत्पादन गरिरहेको छ। धौलीगंगाको बाँध खोल्नुअघि भारतीय प्रशासनले नेपाललाई पूर्वसूचना दिनुुपर्ने प्रावधान छ। भारतले दिने सूचनाका अनुसार स्थानीय प्रशासनले महाकाली आसपासका बासिन्दालाई यसबारे जानकारी गराउँदै आएको छ। परियोजनाले बेलाबेला बाँध सफा र मर्मत गर्न ढोका खोल्ने गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु