काठमाडौंको फोहोर उठाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंको फोहोर उठाउन थालिएको हो । काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिक रुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो खराब भएको कारण देखाउँदै महानगरपालिकाले फोहोर उठाइरहेको थिएन् ।
सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने जनाइएको छ । साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने बताइएको छ । दुई पक्षबीच भएको सहमतिसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको हो ।
महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्नेछ । करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठ्ने अनुमान गरिएको छ । हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको बताइन्छ ।