हुम्ला र मुगु- काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी हुम्ला र मुगु- काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । मुगु – काठमाडौं सम्पर्क मञ्चमा संयोजक बिर्ख बहादुर परियार, सह- संयोजक दिनेश नेपाली सहित ७ सदस्य रहेका छन् भने हुम्ला – काठमाडौं सम्पर्क मञ्चमा संयोजक हिक्मत परियार, सह- संयोजक यम बुढा सहित ७ सदस्य रहेका छन।

भेलामा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पुर्ण श्रेष्ठको समेत उपस्थिति रहेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला/मुगु जिल्ला इन्चार्ज सङ्गमले प्रशिक्षण दिँदै राष्ट्रिय स्वाधीनताको लागि एमसीसी सम्झौता खारेजी अभियानमा लाग्न निर्देशन दिएका थिए । उनले दलाल संसदीय व्यवस्थाले नेपाली जनतालाई ठुलो उत्पीडन दिएको र असफल पनि भइसकेकाले नेपालमा वैज्ञानिक समाजवादी सत्ता आवश्यक भएको बताए । हुम्ला मुगुबासीहरू जहाँ बसेपनि सङ्गठित भएर राष्ट्रिय स्वाधीनता र परिवर्तनका पक्षमा उभिन अपिल गरे ।
काम विशेषले राजधानीमा बसेका विद्यार्थी, समाजसेवी वुद्धिजीवीहरूलाई राष्ट्रिय स्वाधीनता र दलाल संसदीय व्यवस्था परिवर्तनको आन्दोलनमा जोड्न हुम्ला/मुगु जिल्लाबासीहरूलाई सङ्गठित गरि जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको नेकपाले जनाएको छ । एनएस विकको अध्यक्षतामा भएको कार्याक्रमको सञ्चालन हिक्मत परियारले गरेका थिए ।