आज काग र कुकुर तिहार

काठमाडौ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आज काग र कुकुरको पूजा गरिंदै छ । आज काग र कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।
कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ ।
बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ । यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेको छ । त्रयोदशी भएकोले बिहान काग तिहार मनाएर सवा ७ बजेपछि कुकुर पूजा गरिँदैछ ।