राहदानी बनाउनेको भीड !

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा सर्वसाधारणको भीड लागेको छ । सरकारले विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड लागेको हो । वैदेशिक रोजगारीमा जाने र विदेशबाट चाडपर्व मनाउन आएकाहरु फर्कनुअघि विद्युतीय राहदानीका लागि विभागमा लामो लाइन लागेको हो । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउने र नवीकरणका लागि सर्वसाधारणको भीड लागेको विभागले जनाएको छ ।
यसअघि गत असोज दोस्रो साता पनि विभागमा केही समय राहदानी बनाउनेको लर्को लागेको थियो । त्यसबेला करिब एक साता बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन सर्वसाधारण लाममा बसेका थिए । कोरोना संकटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झण्डै दुई वर्ष राहदानी बनाउनेको संख्या कम रहेको विभागले जनाएको छ । अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज बनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका अधिकारीहरु बताउँछन् । नयाँ विद्युतीय राहदानी दिन थालेसँगै जिल्लामा सो सेवा उपलब्ध नहुँदा देशभरका सेवाग्राही विभागमा आएर लामो समय लाइन बस्न बाध्य भएका हुन् ।