आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व

२०७८ पुष ४ गते, आईतवार


काठमाडौं । आज मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मनाइँदै छ ।
धान्य पूर्णिमा :
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्ने परम्परा छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।
योमरी पुन्हि:
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।
उधौली पर्व :
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन्। किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन्। लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए। यो पर्वको पहिलो दिन थियो। आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन्। किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्।किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ।भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ। किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ।लिम्बूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन्। तागेरा निङ्वाफुमाङ्लाई आकृतिविनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ।पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रुपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ।उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ। दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार