नेकपा मकवानपुरद्वारा संगठन सुदृढ तथा विस्तार अभियान २०७८ सुरु

काठमाडौं । १२९ औँ माओ दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले संगठन सुदृढ तथा विस्तार अभियान २०७८ सुरु गरेको छ । उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले माओको १२९ औं जन्म जयन्तीको साथै अभियान सफलताको शुभकामना दिदै चिनियाँ कम्युनिस्ट क्रान्तिका महानायक माओ नेपाली कम्युनिस्ट क्रान्तिका लागि प्रेरकको श्रोत भएको बताएका थिए । नेता नयाँले जसरी माओले चीनमा लङ्ग मार्च अभियान सफल बनाएका थिए त्यस्तै हाम्रो देशमा कम्युनिस्ट क्रान्ति सफल पार्न संगठन विस्तार अभियानलाई निरन्तरता दिनुपर्ने बताए । यसै अनुरूप वैज्ञानिक समाजवादको लागि जन एकता, संगठन सुदृढ तथा विस्तार अभियान २०७८ नामक अभियान सञ्चालन गरिएको बताए । दुई महिनासम्म चल्ने उक्त अभियानको मुख्य उद्देश्य वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्ने बताएका छन् ।
जिल्ला इन्चार्ज नयन, सेक्रेटरी वाटर र विशेष कमिटी सदस्य बादलको नेतृत्वमा तीन अभियान टोली छुट्याएको छ। यसरी छुट्टिएको अभियान टोली जिल्लाका चारै दिशामा पुग्ने जानकारी दिएको छ । जिल्ला सेक्रेटरी वाटरको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालले गरेका थिए ।