‘दिलमाया बम्जन वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना’

२०७८ पुष २१ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले दिलमाया बम्जन नेपालको समग्र वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना भएको बताएकी छिन् । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीद्वारा रामेछापको बेथान पानीघाटमा आयोजित जनयुद्धकी प्रथम छापामार योद्धा सहिद दिलमाया बम्जनको २६ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । नेत्री चन्दले जनयुद्धमा शौर्य प्रदर्शन गर्ने दिलमाया बम्जनका साथै कुमारी बुढा, गोरखाका जेल ब्रेकर, दुस्मनको हतियार खोसेर पार्टीलाई बुझाउने कालीकोटका महिलाहरूको विद्रोहका सबै कडीलाई एकीकृत जनक्रान्तिको ऊर्जा बनाउँदै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले ती दिवसहरूलाई क्रान्तिकारी पर्वका रूपमा मनाइरहेको पनि प्रस्ट पारिन् । क्रान्ति परित्याग गरेर पनि जनतामा भ्रम पार्न उद्यत अवसरवादी, संशोधनवादी तथा पलायनवादीहरूलाई खबरदारी गर्दै उनले भनिन्, ‘हामी नाफाको जीवन बाँचिरहेकाहरू सहिद दिलमाया, तीर्थ र फत्तका शवहरू गाडिएको यो ऐतिहासिक स्थलबाट प्रण गर्दैछौँ– हामीबाट देश, जनता र वर्गलाई धोका हुनेछैन । हामी तीफदिले बोकेको मालेमावादी विचार र उहाँहरूले प्रदर्शन गरेको व्यवहारलाई जीवन, पद्धति र उद्देश्य बनाउन प्रतिबद्ध छौँ । यहाँ अवसरवादीहरूको बिगबिगी छ । कम्युनिस्टको व्यापार गर्नेहरूबाट होसियार !’
जनयुद्धमा उच्च साहस, शौर्य, त्याग र समर्पण गर्दै वीरतापूर्वक बलिदान गर्ने दिलमाया र उनीसँगै बलिदान गर्ने तीर्थ गौतम र फत्त स्मालीले रगत बगाएर पनि पार्टीलाई विजयअभियानमा अघि बढाएकाले क्रान्तिकारीहरूका लागि यो दिन ऐतिहासिक र महत्वपूर्ण दिन रहेको उनले बताइन् । जनयुद्धमा महिलाहरूले प्रदर्शन गरेको त्याग, शौर्य र बलिदानका कीर्तिमानहरूको चर्चा गर्दै नेत्री चन्दले भनिन् – ‘हिजो वर्गसङ्घर्षमा रगत बगाउने सहिदका सपनाहरू अधुरै छन् । सहिद र बेपत्ता योद्धाका परिवारको बेहाल छ । हिजो नायकहरूले वर्गसङ्घर्षमा धोका दिएका कारण जनताका सपनाहरू अधुरै छन् । नेकपाले अघि बढाएको एकीकृत जनक्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवाद स्थापना भएपछि सहिद, बेपत्ता योद्धा, घाइते–अपाङ्ग योद्धा र जनताका सपना पूरा हुन्छन् । त्यो दिशामा अघि बढ्नु आवश्यक छ ।’
कार्यक्रमका विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली इन्चार्ज भरत बम ‘रणवीर’ ले भने, ‘जनता त शान्तिपूर्ण बाटोबाट जीवनको आमूल परिवर्तन गर्न तयार छन् तर हतियार बोकेका सत्ताधारीहरू जनताको इच्छा, चाहना र आवश्यकतालाई हतियारबाटै रोकिरहेका छन् । त्यसैले जनता सहस्त्र सङ्घर्षका लागि बाध्य हुन्छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी जनताको चाहना, उद्देश्य र आवश्यकता पूरा गर्न बल प्रयोगको नेतृत्व गर्न बाध्य हुन्छ र त्यस्तो अवस्थामा त्यो अनिवार्य हुन्छ ।’ जनताको शान्तिपूर्ण परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्दै नेकपाले जनमतसङ्ग्रहबाट व्यवस्था परिवर्तन गर्ने क्रकार्यक्रम अघि सारेको प्रस्ट पार्दै नेकपा नेता रणवीरले पुँजीवाद आफ्नो बलमा नभएर कम्युनिस्टहरूलाई लडाएर टिकिरहेको र संशोधनवादी, क्रान्तिका दलाल र गद्दारहरू पुँजीवादी षड्यन्त्रका गोटी बनेर क्रान्तिकारी शक्तिहरूविरुद्ध खनिएको बताए । माओवादी आन्दोलनमा तत्कालीन नेतृत्वले गरेका गल्ती, कमजोरी, पलायन, विचार, राजनीति, कार्यदिशामा विकास हुन नसकेका विषयमा समीक्षा गरेर पूर्वमाओवादीहरूसँग एकताको वातावरण तयार पार्न सकिने धारणा राख्दै नेता रणवीरले भने, ‘कमरेड विप्लवसँग भेट हुँदा प्रचण्डले छिट्टै पार्टी एकता गरिहालौँ भनेका छन् तर विप्लवले फुटिहाल्ने एकता नगर्न सुझाउनुभएको छ । पहिला एमसीसीविरुद्ध लडौँ । एनसेलविरुद्ध लडौँ । भ्रष्टाचार, महँगी र घूसखोरीविरुद्ध लडौँ । दलाल पुँजीवादविरुद्ध लडौँ । कार्यगत एकता, संयुक्त मोर्चा हुँदै पार्टी एकताको वातावरण बन्दै जान्छ ।’
जनमतसङ्ग्रहको माग गर्नु अशान्ति मच्चाउनु होइन भन्ने धारणा राख्दै नेता रणवीरले संशोधनवादीहरूको वैचारिक, राजनीतिक र कार्यक्रमिक स्खलनलाई अन्त्य गर्दै क्रान्तिकारी विचार, कार्यक्रमका माध्यमबाट वैज्ञानिक समाजवाद– साम्यवाद निर्माण गर्ने उद्देश्यमा एकता आवश्यक रहेको पनि प्रस्ट पारे । निरपेक्ष र स्वार्थकेन्द्रित एकताका कुरा अघि सार्नुअघि ती समूह र पात्रहरूले तीर्थ गौतम, दिलमाया बम्जन, फत्त स्माली मगरलगायत जनयुद्धका दस हजार हाराहारी सहिदका सपना कसले, के स्वार्थमा अलपत्र पारेर वैभवपूर्ण निजी जीवन रोज्यो भन्ने विषय खोज्नुपर्ने पनि नेता रणवीरले बताए ।
उक्त कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी रामेछाप जिल्ला संयोजक सीता गौतमले बेथान वीरता दिवस र दिलमाया बम्जनजस्ता क्रान्तिकारीहरूलाई क्रान्तिकारीहरूले नै आदर्श बनाउनुपर्ने बताइन् । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ इन्चार्ज पवित्रा चँदराले दिलमायाजस्ता क्रान्तिकारी वीराङ्गनाहरूकै त्याग, शौर्य र बलिदानका कारण नेपाली महिलाहरू क्रान्तिको अग्रमोर्चामा लामबद्ध हुन सकेको बताइन् ।
कार्यक्रमको अध्यक्षता गरेकी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारी शाहीले दिलमाया नेपालका सम्पूर्ण क्रान्तिकारी महिलाहरूका लागि प्रेरणा, त्याग, शौर्य र साहसकी प्रतिमूर्ति रहेकाले क्रान्तिकाल र त्यसपछि पनि सधैँ स्मरणीय रहने बताइन् । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव उषा मगरले गरेकी थिइन् । सहिद दिलमाया बम्जनको बलिदान गाथाको स्मरण र सम्मान गर्दै पार्टी महासचिव विप्लव र सङ्गठनकी अध्यक्ष बन्धु चन्दले हस्ताक्षर गरेको सम्मानपत्र सहिद परिवारलाई हस्तान्तरण गर्न नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठलाई नेत्री चन्दले हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा नेकपा रोमछापका सेक्रेटरी इन्द्र श्रेष्ठ, सहिद परिवारका सदस्य गुन्जनलगायत पार्टी जिल्ला समिति सदस्यहरू, सङ्गठनकी सदस्य भावना चन्द, जनक महतारा, जवसका पदाधिकारीलगायत सदस्य र बेथानबासी सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा माओवादी केन्द्रका प्रेमसागर थापालगायतले पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीप्रति धन्यवाद व्यक्त गरेका थिए ।
२०५३ साल पुस १९ गते राती नेकपा माओवादी पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथान पानीघाटमा छापामार दस्ताले सशस्त्र फौजी हमला गरी चौकी कब्जा गरेर सम्पूर्ण हातहतियार कब्जामा लिएको थियो । फौजी कारबाहीका क्रममा पूर्वाञ्चल उपक्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर तीर्थ गौतम, छापामार सदस्यहरू दिलमाया बम्जन र फत्तबहादुर स्माली मगरको सहादत भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार