सडकमा फोहोर फाल्नेमाथि निगरानी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घर र होटल रेस्टुरेन्टको फोहोर सडक किनारमा ल्याएर राख्नेमाथि रात्रिकालीन अनुगमन सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीमा यसरी फोहोर राख्दै आएका र स्थानीयबीच कुटपिट भएपछि महानगरपालिकाले रात्रिकालीन अनुगमन गरिरहेको जानकारी दिएको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार लगानी बोर्डमार्फत काठमाडौँ उपत्यकाको फोहोर निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिने विषयको अध्ययन पनि भइरहेको छ । नेप बेस्ट कम्पनी र महानगरपालिकाबीच फोहोर व्यवस्थापन गर्ने विषयको प्रारम्भिक विकास सम्झौताको टुङ्गोमा लगाउने कार्य अघि बढिरहेको राईले जानकारी दिए ।
कीर्तिपुर नगरपालिकाबाहेक उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा फोहोरमैला व्यवस्थापन केन्द्र खारेज भएपछि फोहोर व्यवस्थापनको दायित्व महानगरपालिकामा आएको थियो । महानगरपालिकाले निजी क्षेत्रसँग पनि सहकार्य गरेर सिसडोल ल्यान्ड फिल्ड साइटमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।
काठमाडौँ महानगरपालिकाले दैनिक एक हजार टन फोहोर सिसडोलमा लैजाने गरेको छ । निजी क्षेत्रका दुई सय कन्टेनर र महानगरपालिकाको २० कन्टेनर फोहोरसहित सिसडोल पुग्ने गरेको छ । प्रमुख राईका अनुसार सातामा चार दिन रात्रिकालीन अनुगमन र अन्य दिन माइकिङ गरेर सार्वजनिक स्थालमा फोहोर नफाल्न चेतनामूूलक सन्देश प्रवाह गर्ने भएको छ । महानगरपालिकाको नगर रक्षक, जनपथ प्रहरी र फोहोरमैला व्यवस्थापनसँग सरोकार राख्ने स्थानीय युवा क्लब यसमा सहभागी हुँदैछन् ।