ओमिक्रोन भेरियन्ट बढ्दै गए ‘स्मार्ट लकडाउन’

काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको हो । बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केही क्षेत्र मात्र बन्द गर्ने गरी स्मार्ट लकडाउनमा जाने विषयमा छलफल भएको बताए । उनले पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अब केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरि स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए । भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइसोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।
त्यस्तै स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्ने गरी स्थानीय निकायले व्यवस्था गर्ने र त्यसकोे खर्च केन्द्र सरकारले व्यहोर्ने गरि तयारी गरिएको उनले बताए । बैठकमा कोरोनाविरुद्धको खोप अभियानलाई तीब्रता दिन र बुष्टर डोजको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका मन्त्री खतिवडाले जानकारी दिए ।
बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले उचित व्यवस्थापन गरेको दाबी गरे ।