‘संसदीय व्यवस्थाले जनतालाई लुटिरहेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी दिपेन्द्रले दलाल संसदीय व्यवस्थाले जन्मदेखि मृत्युुसम्म, नुनदेखि सुनसम्म र छानादेखि खानासम्मको चर्काे कर लिएर जनतालाई लुटिरहेको ठोकुवा गरेका छन । नेकपा दैलेखले सोमबार गुराँस गाउँपालिकाको पाथीकान्ला बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उनले जनताबाट चर्काे कर असुली गरेर जनप्रतिनिधिहरू र कर्मचारीहरूले तलब, भत्ता महँङ्गो गाडी र निजी सम्पत्ति थुपारेको कुरा उल्लेख गर्दै दलाल संसदीय व्यवस्थाको कारण देशमा राजनीतिक सङ्कट देखा परेको उल्लेख गर्दै वर्तमान राजनीतिक सङ्कटको अग्रगामी समाधान नेपाली जनतालाई व्यवस्था चुन्ने जनमतसङ्ग्रहबाट मात्र सम्भव हुने कुरामा जोड दिए । उनले देउवा सरकारले संसदबाट राष्ट्रघाती एमसीसी पास गरेमा काँग्रेस पार्टी र देउवाको राजनीति सकिने र देश अमेरिकाको गुलाम हुने कुरा बताए । अमेरिकी साम्राज्यवादी हस्तक्षेप बिरुद्ध सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट भएर लड्नुपर्ने कुरामा नेता दिपेन्द्रले जोड दिए । यस्तै कार्यक्रममा नेकपा दैलेखका सदस्य तथा गुराँस गाउँ समिति इन्चार्ज विश्व, साधारण शाखा सेक्रेटरी सागर, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुद्रसनले पनि मन्तव्य राखेका थिए ।
नेकपा दैलेखका सदस्य तथा चामुन्डा बिन्द्रासैनी नगर समिति इन्चार्ज क्रान्ति, प्रभात स्मृति जनसाँस्कृतिक परिवारका अध्यक्ष सभ्यता अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेकपा दैलेखका सदस्य तथा आठविस नगर समिति इन्चार्ज प्रकाश रहेका थिए । नेकपा दैलेखका सदस्य तथा ठाँटीकाध गाँउपालिका इन्चार्ज क्षितिजले सञ्चालन गरेको कार्यक्रममा बिराटले स्वागत मनतव्य राखेका थिए भने प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरूले जनबादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।