जनपत्रकार सङ्गठन कञ्चनपुरद्वारा पत्रकार महासंघलाई मर्यादित र जिम्मेवार बन्न आग्रह

काठमाडौं । जनपत्रकार सङ्गठन नेपाल, कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै मागपत्र बुझाएको छ । उक्त मागपत्र बुझ्दै नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले महसंघको हितमा रहेका जायज मागहरूलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
यस बिषयमा जनपत्रकार सङ्गठन नेपाल, कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई पेस गरेको ५ बुँदे माग पत्र यस प्रकार रहेको छ :
१) श्रमजीवी पत्रकारहरूको न्यूनतम् पारिश्रमिक, पेसागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापन, राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् ।
२) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरूको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् ।
३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् ।
४) समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् ।
५) पत्रकारहरूको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।
उक्त मागपत्र पेश कार्यक्रममा पत्रकार महासंघका तर्फबाट शाखाका अध्यक्ष माधवसिंह धामी र सचिव राजेन्द्र अवस्थी थिए भने जनपत्रकार सङ्गठनका तर्फबाट अध्यक्ष गणेश एसके, सचिव अनमोल विष्ट र सदस्य प्रकाश लोहारको उपस्थिति रहेको थियो ।
