एमसीसीविरूद्व जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ

काठमाडौं । नेकपासहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै भैरहवामा जिल्ला प्रशासन कार्यालय रूपन्देही घेराउ गरेका छन । संयुक्त मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरिएको नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले बताए । घेराउ कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै यसलाई संसदबाट पास नगर्न चेतावनी दिए । उनले अमेरिकी साम्राज्यवादका दलालहरुले एमसीसी पास गरे कार्यान्वयन हुन नदिने बताउदै यसका विरुद्ध देशभक्तहरु एक हुनुपर्ने बताए ।कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एबं लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले नेपालको सार्वभौमसत्ता र अर्थराजनीतिलाई नकारात्मक प्रभाव पार्ने गरि एमसीसी सम्झौता आएको भन्दै यसले नेपाली जनताको स्वतन्त्रता र स्वाधीनता विरूद्व भएको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने र चीनलाई घेर्नका लागि एमसीसी आएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका हिरालाल धामीले एमसीसी विद्युत र सडक बिस्तारको नाममा चीन विरूद्व सैन्य बिस्तार गर्ने रणनीति भएको भन्दै यसको खारेजी अनिवार्य भएको बताए । नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले एमसीसी देशमाथिको हस्तक्षेप भएको भन्दै सबै देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए ।
उक्त कोणसभाको संचालन देजमोका जिल्ला सदस्य राजु भुजेलले गरेका थिए भने कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एबं रूपन्देही जिल्ला इन्चार्ज कृति, नेकपा मसालका चेतनाथ आचार्य, रास्ट्रीय जनमोर्चाका नेता बद्रे आलमलगायत नेता एबं संयुक्त संघर्षमा सम्बद्ध नेता कार्यकर्ता र जनताको उपस्थिती रहेको थियो ।