भक्तपुर र वीरगन्जमा बर्डफ्लू

२०७८ फाल्गुन २८ गते, शनिबार

काठमाडौ । भक्तपुर र वीरगन्जमा बर्डफ्लू भेटिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ। यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । त्यस्तै ,वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखापरेको छ । वीरगन्ज महानगरपालिका-१५ भेडियाहीस्थित सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्मका ब्रोइलर कुखुरामा बर्डफ्लू देखिएको हो । बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् ।
फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरू पनि नष्ट गरिएको छ। बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल गरिएको छ । भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]