एमसिसी सम्झौताविरुद्ध मकवानपुरमा प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच कम्युनिस्ट पार्टी र दुई मोर्चानिकट संयुक्त ट्रेड युनियन महासंघ मकवानपुरले राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन सहितको कोणसभा कार्यक्रम गरेको छ। कार्यक्रम बागमती प्रदेशको राजधानी हेटाैंडामा भएको हो। सोमबार बिहान सीमा चोकबाट सुरु भएको र्याली बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमजीवी मजदुरहरूको सहभागिता रहेको छ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा पश्चिम बागमती इन्चार्ज राजकुमार मगरले उक्त कार्यक्रमको सम्बोधन गरेका हुन्। उनले देशको जनशक्ति खाडी मुलुकमा पठाई बेचेर खाना पल्केका दलालहरुले आज नेपाल आमा र पुर्खाले आर्जेको गौरवपूर्ण इतिहास र राष्ट्रिय पहिचानलाई लिलाम गरी साम्राज्यवादको टाँगमुनि लमपसार परी भिख मागिरहेको बताए। यस्ता दलाल देशद्रोहीलाई बचाउनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै हुने भएकाले तिनलाई समयमै ठेगान लगाउन सबै तयार हुनुपर्ने बताए। राज्यले रोजगार, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्लान् भनेर हेर्दाहेर्दै कयौं जनता भोकभोकै एउटा सिटामोल धरी खाना नपाएर अशिक्षित अवस्थामै मर्न बाध्य भएको उनले बताए। जसोतसो दश नङ्ग्रा खियाएर जीविका चलाउँदै गर्दा पनि आज सरकारमा बसेका लुटेराहरुले दिनप्रतिदिन महँगी र कालोबजारीको भारी नेपाली जनता माथि थोपरिरहेको छ। यस्ता बेथिति र अत्याचारको अन्त्यका लागि फेरि एकचोटि विद्रोहको आवाजलाई बुलन्द पार्न आवश्यक भएकोले एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द हुँदै आजको आवश्यकतालाई परिपूर्ति गर्न उनले सबैमा हार्दिक अनुरोध पनि गरेका छन्।
कार्यक्रममा नेपाल आमालाई बेचेर देश विकासको लागि पैसाको आशा गर्नुभन्दा सकिन्छ भने स्वदेशी पुँजीलाई नै परिचालन गर र रोजगारको ग्यारेन्टी गर यो देशको विकास गर्ने र यहाँ सुन फलाउने काम गर्न तयार छौं तर विदेशीको गुलाम हामी कदापि बन्दैनौं भन्दै प्रदर्शनकारी उफ्रेका थिए। आवश्यक परे ढुंगा फुटाउने हथौडा टाउकोमा बजार्न पनि पछि नहट्ने उनीहरूको भनाई थियो। यसरी एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध बुद्ध चोकमा भएको कोणसभा कार्यक्रमको सञ्चालन स्वतन्त्र निर्माण श्रमिक संघ मकवानपुरका संयोजक सन्त राईले गरेका थिए।