सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन जेठ १ गतेदेखि खुल्ने

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गते अर्थात दुई महिनापछि मात्रै खुला हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको हो ।विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप एक्कासि बढेको थियो । कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो ।