इद पर्व मनाइदै

काठमाडौं । अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् । दसौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन सोमबार बेलुका चन्द्रमा देखिएपछि मंगलबार इदउल फित्र मनाइएको हो ।
इदउल फित्र पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।