दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो

काठमाडौं । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको जनाएको छ । टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । मल्लले हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको जानकारी दिए । उनले भने -‘सबै २२ वटा शव र ब्ल्याक बक्स भेटियो र हामी मिसन कम्प्लिट गरेर त्यहाँबाट फर्किसक्यौं। ‘ सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । आज बिहान भने सबै शव संकलनको काम सकिएको छ ।