फोहोरले सरुवा रोग, महामारी निम्त्याउने चेतावनी

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा सरुवा रोगका बिरामी बढ्न थालेका छन् । वर्षाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर कुहिएर दुषित बनेपछि झाडापखालालगायत सरुवा रोग बढेको चिकित्सकहरु बताउँछन् । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा दिनप्रतिदिन झाढापखालाका बिरामी बढन् थालेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएका छन् । उनका अनुसार हाल अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका छन् । अस्पतालको रेकर्डअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन् ।
काठमाडौँमा थुप्रिएको फोहोरकै कारण झाडापखालाका बिरामीहरु बढ्न थालेको स्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा.पुनले भने । झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् । फोहोरको तुरुन्तै व्यवस्थापन नभए थप जटिलता आउन सक्ने विज्ञहरुले सचेत गराएका छन् ।