काठमाडौंको पानीका स्रोतमा हैजाका जीवाणु

काठमाडौं । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको जनाएको छ । महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको हो । आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।
यस्तै दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भए/नभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।
यसैबीच काठमाडौं उपत्यकामा हैजा पुष्टि भएकामध्ये ८ जना निको भएका छन् । संक्रमित १२ मध्ये ८ जना निको भएर घर फर्केका हुन् । अन्य चार जनाको भने टेकु , पाटन स् र बयोधा अस्पतालमा उपचार भइरहेको छ । असार ५ गते राजधानीको बागबजारमा पहिलो पटक हैजाको बिरामी पुष्टि भएको थियो ।