बेँसीसहर–चामे सडक एक साता बन्द !

२०७९ असार २२ गते, बुधबार


काठमाडौँ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तरोन्नतिका लागि पूर्ण रूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युत विलास पन्तले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।
विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । ६५ किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खा याममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ ।
गत वर्ष बाढी पहिरोले एक महिनासम्म सडक अवरुद्ध भएको थियो । मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु