क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दा परेको छ । उहाँमाथि एक किशोरीले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी हुन् । पीडित किशोरका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको जानकारी दिइएको छ ।
लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानुभएको हो । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी गर्नुभयो । नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको छ ।
एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो ।
प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको छ । प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको बताएकी छिन् । त्यहाँबाट आफूलाई भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको कुरा उजुरीमा उल्लेख छ । किशोरीका अनुसार लामिछानेले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौं गौशला नजिक एक होटलमा लगेर उनलाई जबर्जस्ती करणी गरेका हुन् ।